
थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।
हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ ।
अहिलेसम्म कोरोना संक्रमण भएका व्यक्तिको संख्या २७८ पुगेको छ । जसमध्ये २२४ जना पुरुष छन् भने ५४ जना महिला छन् । संक्रमित मध्ये केही नाबालकहरु पनि रहेका छन् ।
प्रदेशगत हेर्ने हो भने प्रदेश १ मा ३६ जना प्रदेश २ मा १०९ जना बाग्मती प्रदेशमा १६ जना गण्डकी प्रदेशमा ३ जना प्रदेश ५ मा १०९ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।
अहिलेसम्म कर्णाली प्रदेशमा कसैलाई पनि कोरोना संक्रमण भएको छैन ।
जिल्लागत रुपमा हेर्ने हो भने देशभरका ७७ जिल्लामध्ये २६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ का ८ वटै जिल्लामा कोरोना देखिएको हो ।
कोरोना भारइस रोगबाट अहिलेसम्म ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।