
कोरोना भाइरसको प्रभावले देश नै लकडाउनमा रहेका समयमा समेत राष्ट्रपतिको आगमन र सम्मान अघिल्ला वर्षहरुको भन्दा फरक हुन सकेन ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भन्ने शब्द हटाईपनि रातो कार्पेटबाट संसद भवन छिर्ने र सुरक्षाका लागि भन्दै सयौँको संख्यामा सुरक्षाकर्मी खटाउने क्रम पनि रोकिएन ।
कोरोना भाइरस संक्रमणले विश्व आक्रान्त बनिरहेका समयमा समेत सरकारको नीति तथा कार्यक्रमको तामझाम भने अघिल्ला वर्षको भन्दा फरक देखिएन ।
शुक्रवार संघीय संसद् परिसरको सजावटदेखि लिएर राष्ट्रपति विद्यादेवी भण्डारी प्रवेश गर्दासम्मका दृश्य निकै नै रोचक देखियो ।
यस्तो प्रतिकुल वेलामा पनि अघिल्ला वर्षहरुमा जस्तै राष्ट्रपतिलाई रातो कार्पेट बिछ्याएर संसद् भवनमा स्वागत गरेको दृश्य गर्नेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तो भएको छ ।
कोरोनाका कारण नागरिक भोकभोकै पर्ने अवस्थामा रहेका वेला शीतलनिवासदेखि बानेश्वरसम्म राष्ट्रपतिको तामझामपूर्ण यात्रा आडम्बरपूर्ण भएको धेरैको बुझाइ छ । सुरक्षाका लागि बाटोको दायाँबायाँ सयौँको संख्यामा सुरक्षाकर्मी र अगाडि पछाडिको लावालस्कर केका लागि भन्ने प्रश्नसमेत उठेको छ ।
तामझाम र स्वागत नघटेपनि अघिल्लो वर्ष विवादित बनेको ‘मेरो सरकार’ को सट्टा राष्ट्रपतिले ‘नेपाल सरकार’को प्रयोग गरेकी छिन् ।
मुलुकमा राजतन्त्र हटेर गणतन्त्र स्थापना भएको एक दशकभन्दा बढी भइसकेको छ । जनताको सेवा गर्न भनेर उच्च पदमा पुगेकाहरूको जीवनशैली र व्यवहार झन्झन् महँगो बन्दै गएको छ ।
कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनका कारण देश नै प्रतिकुल अवस्थामा गुज्रिरहेको वेला राष्ट्रपति भण्डारीको यसप्रकारको आडम्बरपूर्ण व्यवहारलाई किमार्थ उचित मान्न सकिँदैन ।
कतिपयले भने राष्ट्रपतिको यो तडकभडक भन्दा भर्चुअल रुपमा आजको नीति तथा कार्यक्रम प्रस्तुत गरेर आज हुने भनिएको खर्च जति सबै कोरोना कोषमा राख्न समेत अघिल्लो दिनदेखि नै सुझाव दिएका थिए । राष्ट्रपतिको स्वागतको लागि साझसज्जामा निकै ठूलो रकम खर्च भएको अनुमान गर्न सकिन्छ ।