काठमाडौं । सरकारले फेरि लकडाउन बढाउने भएको छ । देशभर कोरोना भाइरस (कोभिड १९)का बिरामीहरु बढ्दै गएपछि सरकारले पुनः लकडाउनको समयावधि थप्ने तयारी गरिरहेको हाे ।
स्रोतका अनुसार अब लकडाउनलाई थप प्रभावकारी र रणनीतिक तरिकाले अगाडि बढाइने छ । जेठ ५ गते अर्थात आगामी सोमबार सरकारले गरेको लकडाउनको समयावधि सकिँदैछ ।
अब लकडाउन कसरी अगाडि बढाउने र कतिसम्म बढाउने भन्नेबार अहिले उच्चस्तरीय समितिको अनौपचारिक बैठक बसिरहेको छ । सो बैठकले लकडाउनलाई कहिले सम्म बढाउने भन्ने मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ ।
आज सिफारिस नभए पनि अर्काे बैठकले गर्ने स्रोतले बतायो । आजै २ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ । मन्त्रिपरिषद्को बैठकले पनि लकडाउनको बारेमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।
दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकार पनि लकडाउन बढाउने र पीसीआर परीक्षणको दायरा बढाउने रणनीतिमा छ । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ । यो सम्म ६ पटक लकडाउन बढिसकेको छ । छिमेकी राज्य भारतले पनि लकडाउन थपेपछि नेपालले नथप्नुको बिकल्प नरहेको एक नेताले बताए ।