नेपालमा २०७६ साल ९ माघमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । पहिलो संक्रमित भेटिएको झण्डै चार महिना बित्न लाग्दा संक्रमितको सङख्या बढेर २ सय ५८ पुगेको छ ।
चिनबाट फर्केका जनकपुरका उक्त युवा पूर्ण रुपमा निको भएर अहिले घरमा नै आराम गरेर बसिरहेका छन् ।
संक्रमितको संख्या २ सय ५८ पुग्दा यो भाइरस नेपालमा २४ वटा जिल्लामा फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार ५ जिल्लामा संक्रमितको संख्या दोहोरो (१० वा सो भन्दा बढी ) संख्यामा रहेको छ र निकट भविष्यमा यो संख्या तीन अंकमा (१०० वा सो भन्दा बढी ) पुग्ने देखिन्छ ।
शुक्रबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार पर्सा जिल्लामा ८५ जना, कपिलवस्तुमा ३९ जना बाँकेमा ३३ जना, उदयपुरमा ३२ जना र रुपन्देहीमा २८ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै काठमाडौंमा ७ जना, कैलालीमा ४ जना, धनुषा, बारा र रौतहटमा ३-३ जना, महोत्तरी बाग्लुङ्ग, चितवन, झापा, सर्लाही, भक्तपुर र धादिङमा २-२ जना र बर्दिया भोजपुर कञ्चनपुर नवलपरासी (पश्चिम), नवलपरासी (पूर्व), सप्तरी र मकवानपुर मा १-१ जना गरी जम्मा २४ जिल्लामा २ सय ५८ जना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म ३६ जनाले यो रोगविरुद्धको लडाइ जितेर घर फर्केका छन् । जसमा केही वृद्धहरु पनि छन् । जिल्लागत रुपमा हेर्नेहो भने ३२ जना संक्रमित भेटिएको उदयपुर जिल्लामा १४ जना निको भएका छन् । तीनीहरुमध्ये धेरै व्यक्तिहरु भारतीय नागरिक हुन् ।
७ जना संक्रमित भेटिएको काठमाडौं जिल्लामा ५ जना निको भएका छन् । काठमाडौंमा हिजो र अस्ति नयाँ संक्रमित फेला परेका हुन् ।
कैलालीमा संक्रमित भेटिएका ४ जना नै निको भएर फर्केका छन् ।
पर्सामा ३ जना उपचारपछि निको भएका छन् ।
बाग्लुङ्ग र चितवन जिल्लाका संक्रमितहरु निको भएर घर फर्केसँगै यी जिल्लाहरुमा नयाँ संक्रमित भेटिएका छैनन् ।
एकजना मात्र संक्रमित निको भएका जिल्लाहरुमा रुपन्देही, रौतहट, झापा धादिङ, भोजपुर कञ्चनपुर रहेका छन् ।