
शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको जनाएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालगञ्जको भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा थप ९ जनाको संक्रमण देखिएको हो ।
मकवानपुरको ३७ वर्षीय पुरुष, बाँकेको नैरनपुर गाउँपालिका–१, ३, ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका सबै ९ जना नै पुरुष हुन् ।
हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको यो पहिलोपटक हो । योसँगै कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या २३ पुगेको छ ।