
कोरोनाको हटस्पटको रुपमा देखिएको उदयपुर जिल्लामा चट्याङले एक व्यक्तिको ज्यान लिएको छ ।
ज्यान गुमाउनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् ।
बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
चटयाङले सुनुवारको छाती डढेको पाइएको छ ।
गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।
उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको समेत बताए ।
जंगल नजिकै बस्ति भएका तराई क्षेत्रमा दिउँसोको समयमा जंगलमा गाईवस्तु चराउने गरिन्छ ।