
चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन ।
थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ । पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन् ।
मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. देवकोटाले सचेत रहन आग्रह गरेका हुन् । ‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् । सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा. देवकोटोले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा २ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । हिजो (बिहिबार) र अस्ति (बुधबार) काठमाडौंमा २ र भक्तपुरमा २ गरी ४ जना नयाँ संक्रमित फेला परेका छन् ।