
भक्तपुरः भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसुलेसन वार्डमा राखि स्वाब परिक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।
संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने र उनको एक हप्ताभित्र पुनः स्वाब परीक्षण गर्नु पर्ने डा. गौतमले बताइन् ।
संक्रमित युवती वैशाख २९ गते सुनसरीबाट सवारी पास लिएर मोटरसाइकलमा भक्तपुर आइपुगेकी थिइन् । भक्तपुर आए लगतै उनी संखधर चोक नजिकै रहेको साथीको कोठामा बास बसेकी थिइन् ।
संक्रमित युवतीको मंगलबारदेखि टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
यसैगरी, भक्तपुरमै भेटिएका अर्का २७ वर्षिय एक पुरुषका ७ जना परिवारका सदस्यको स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको भक्तपुर अस्पतालले जनाएको छ ।