
काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनाको एन्टिबडी पाेजेटिभ देखिएकाे छ । कालीमाटीमा सव्जी बेच्ने एकजनालाई उच्च ज्वरो आएर अस्पताल भर्ना गरे पछि तरकारी बजारमा डर पसेको थियो
बिहीवार कालिमाटी बजारका ७ सय जनाको र्यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पाेजेटिभ देखिएको हो ।
विहीबार ७०० जनाको आरडीटी र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ ।
७ सय जनाको आरडीटीबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पाेजेटिभ देखिएकाे काठमाडौं महानगरपालिकाका जन स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।
काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियो ।
बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) भए/नभएको पत्ता लगाउन विहीबारबाट स्वास्थ्य परीक्षण थालिएको हो ।
कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी रहेका छन् । कालीमाटी तरकारी तथा फलफूल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गरेको छ।
तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउने गरेको उनले बताए ।
उनले भने, ‘कालीमाटीमा २ हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय जना भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ जना कर्मचारी र सुरक्षाकर्मी रहेका छने भने सरसफाईमा काम गर्ने २० जना मजदुर छन्।’
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सञ्चारकर्मी लगायतको स्वास्थ परीक्षण गर्ने जनाएको छ ।