
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउन निर्देशन दिएको छ ।
बिहीबार बसेको समिति बैठकले विदेशमा अलपत्र परेकालाई ल्याउन, क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
यस्तै विदेशमै बस्न चाहानेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि समितिले निर्देशन दिएको छ ।
कोरोना महामारीका कारण अहिले विदेशमा विभिन्न कारणले चार लाखभन्दा धेरै नेपाली स्वदेश फर्कन सक्ने सरकारको अनुमान छ । भिसाको म्याद सकिंदा, कोरोनाको कारण कम्पनी र काम बन्द हुँदा कतिपय श्रमिकलाई खान र बस्नको समेत समस्या भइरहेको छ ।
कुवेतमा आममाफीमा सहभागी भएकाहरु नेपाल फर्कने दिन कुरिरहेका छन् । मलेसिया र यूएईले पनि भिसा सकिएकालाई स्वदेश फर्कन निर्देशन दिइसकेका छन् ।