
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ९० जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
७५ पुरुष र १५ जना महिलाको त्यहाँ उपचार भइरहेको छ। नारायणी अस्पतालमा देशकै सबैभन्दा धेरै संक्रमित रहेको मेडिकल सुपरिटेन्डेन्ड डा. मदन कुमार उपाध्यायले बताए।
अस्पतालको आइसोलेसन वार्डमा नअटेर १९ जनालाई सिद्बार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ।
कोरोना आशंकितलाई राख्न बनाइएको क्वारेन्टाइनलाई सेमी आइसोलेसन बनाएर २० जना संक्रमितलाई बुधबार बेलुका सारिएको हो। नारायणी अस्पतालमा ४ महिनादेखि १५ वर्ष सम्मका बालबालिका पनि छन्।
त्यहाँ २० देखि ४० वर्षसम्मका संक्रमितले उपचार गराइरहेका छन्।
पर्साका ८२, बाराका ३, रौतहटका ३, सर्लाहीका १ र भारतीय नागरिक १ जना छन्।
अस्पतालमा एक सय २५ जनाको चिकित्सकको टोली उपचारमा खटिएको छ ।
६-६ घण्टाको सिफ्ट मिलाएर उनीहरुले काम गरिरहेका छन् ।
उपचारमा संलग्न सम्पूर्ण चिकित्सकलाई ‘होटल कन्ट्री इन’मा राखिएको छ। ‘अस्पताल भएका कारणले कुनै पनि बिरामीलाई कडाइका साथ राखिएको छैन,’ उनले भने,’ जेल जस्तो गरेर हात खुट्टा बाँधेर राख्ने कुरा भएन। शौचालय फुटाएर भाग्छन् भने अस्पतालले के गर्न सक्छ।’ चिकित्सको काम बिरामीको उपचार गर्ने भएको बताउँदै डा उपाध्याय भन्छन् महामारीमा संक्रमितहरु नै बढी संवेदनशील हुनुपर्छ।
हिजो मात्र अस्पतालको शौचालयमा रहेको भेन्टिलेसन फुटाएर २ जना संक्रमित भागेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।