
दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पु¥याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए । जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटाँै सन्तान हुन् । कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ ।
अहिले अनिता पनि दाङको तुलसीबाल अस्पतालको आइसोलेशन वार्डमा छिन् । तुलसीपुर उपमहानगरपालिकाकी ३५ वर्षीया अनिता यादवका ६ दिनअघि जन्मिएका जुम्ल्याहा छोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यसअघि उनका दुई छोरी र दुई छोरा छन् । जुम्ल्याहा छोरीको स्वास्थ्यमा सुधार आएको खबरले अनिताले सुत्केरीपूर्वको लामो तथा कष्टपूर्ण हिँडाइ र त्यो अवस्थाको क्वारेन्टाइन बसाइँका सबै पीडा बिर्सन थालेकी छिन् ।
अनिता भारतको बलरामपुर जिल्लाको विलौनीस्थित माइतीघरबाट पैदलै हिँडेर गत बिहीबार घर आइपुगेकी थिइन् । उनी तीनदिनसम्म १५ किलोमिटर दूरीको जङ्गल हुँदै स–साना पहाड र कच्ची तथा जोखिमपूर्ण बाटो लगातार करिब १२० किलोमिटरको दूरी पैदलै हिँडेर तुलसीपुर उपमहानगरपालिका–१३ स्थित आफ्नो घर पुगेकी हुन् । माइतीबाट यो बाटो एक्लो यात्री बनेर उहाँ घर पुगेकी थिइन् ।
कोरोना महामारीका कारण भारत र नेपालमा पनि लकडाउनका कारण उनलाई यस्तो सास्ती भएको थियो । गर्भवती अनिता यस्तो जोखिममा हिँडेरै घर त पुग्नुभयो तर घरमा खानपिन गर्न र केही समय आराम गरी बस्न भने पाइन्न । घरभित्र पस्न नपाउँदै गाउँलेले थाहा पाए र भारतबाट आएको भन्दै उपमहानगरपालिकालाई खबर गरिदिए । एकैछिनमा उपमहानगरपालिकाको टोली आयो र उहाँलाई तुलसीपुरस्थित क्वारेन्टाइनमा लगेर राखियो ।
“पेटमा जम्ल्याहा रहेछन्, त्यत्रो लामो बाटो हिँडेर आएँ तर घरमा बस्न पाइनँ, भोक लागेको बेला केही खाएर आराम गर्न पनि पाइनँ । त्यति दुःख कष्ट गरी धेरै समयपछि घरमा आइपुगेकी थिएँ, श्रीमान् र छोराछोरीको मुख देख्न पनि पाइन । म निकै रोएँ तर उहाँहरुले सम्झाउनुभयो । पछि यही क्वारेन्टाइनमा ल्याएपछि खाना र बास पाएँ, एकरात आराम पाएँ । त्यो रात कसरी बित्यो मलाई थाहा भएन तीन दिनदेखि हिँडेको र यो अवस्थाको शरीर निकै गलेको रहेछ”, उनले भनिन् ।
शुक्रबार सुत्केरी व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल पु¥याइयो । जुम्ल्याहा छोरी जन्मिए । तर निकै कम तौलका जन्मिए । यादव र उहाँका नवजात शिशुलाई गत शनिबार बिहानै प्रादेशिक अस्पतालले सिफारिस गरी तुलसीबाल अस्पताल पठायो । अहिले दुई सन्तान सोही अस्पतालको एनआइसियुमा छन् भने आफू त्यहीको आइसोलेशन कक्षमा ।
राप्ती प्रादेशिक अस्पतालका प्रसूति रोग विशेषज्ञ डा विनोद सिंहले भने, “उहाँ आफ्नो माइतीघर भारतको बलरामपुरबाट धेरै कष्टपूर्ण पैदल यात्रा गरी आउनुभएको रहेछ । व्यथा लागेपछि अस्पताल ल्याइयो जाँच भयो तर शरीरमा तागत पटक्कै थिएन । रगतको मात्रा निकै कम देखिएपछि शल्यक्रियाको तयारी भयो । रगतको व्यवस्था पनि भयो । तर पछि साधारणरुपमा (नर्मल डेलिभरी) बाट नै जुम्ल्याहा शिशु जन्मिए ।”
गत माघ महिनाको पहिलो हप्ता श्रीमान्सँगको सामान्य विवादपछि अनिता माइतीमै बस्दै आएकी थिइन् । मसुरो र गहुँ काट्ने समय भएकाले त्यहाँ काम पाएको बताउने अनिताले सुत्केरी हुने समय आएपछि माइतीमा बच्चा जन्माउन हुँदैन भन्ने भयो र चार सन्तानको यादले पनि सतायो । त्यसैले उनी घर फर्किईन । तर यो बेला पहिलेजस्तो सजिलो थिएन । “यस्तो अवस्थामा छु, मानिससँग हारगुहार गरेर पनि जान्छु भन्ने लाग्यो र बाटो लागेँ । घरपरिवारको यादले पनि सताउन थालेपछि हिँडेर भए पनि घरमै जान्छु भनेर निधो गरेर हिँडेको हुँ”, उनले भनिन् ।
“जङ्गलको यात्रा गर्दा वन्यजन्तु, सर्पको डरको कुनै प्रवाह गरिनँ, सुत्केरी हुने समय नजिक आएको छ कतै जङ्गलमा व्यथा लागेपछि के गरुँला भन्ने त्रास त थियो तर छिटोछिटो गरी हिँडे । भोक लाग्यो, तिर्खा लाग्यो, खुट्टा भत्भती पोल्न थाले तर पनि कतै नरोकिई सकीनसकी हिँडेरै यहाँ पुगेँ”, तुलसीबाल अस्पालमा उनले सुनाइन्
“क्वारेन्टाइनमा ल्याइएको भोलिपल्ट बिहान १० बजे पेट दुख्न थालेपछि जानकारी गराएँ, एकैछिनमा त्यहाँबाट गाडीले प्रादेशिक अस्पतालको प्रसूति कक्षमा लग्यो, त्यहीँ शिशु जन्मिए त्यसपछि यहाँ आएको हो”, उनले भनिन् ।
तुलसीबाल अस्पताल तुलसीपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा किशोर खत्रीले विगत चार दिनदेखि सुत्केरी आमालाई आइसोलेशन र नवजात शिशुलाई एनआइसियुमा राखेर उपचार गरिएको बताए । अस्पतालले आमा र जुम्ल्याहा दिदीबहिनीको उपचार शुल्क आफूले नलिने यसअघि नै घोषणा गरेकाे छ । अनितालाई क्वारेन्टाइमा नल्याएको भए आमा र शिशुको ज्यानसमेत जोखिममा रहेको डा खत्रीले बताए ।