
महाराजगञजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण देखिएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिनअघि भर्ना भएका ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान ६ बजेर १५ मिनेटमा सार्वजनिक गरेको दुई संक्रमितमध्ये एकजना तिनै बालिका हुन्।
स्रोतका अनुसार इएनटीसम्बन्धी बिरामी उनलाई कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो। कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालका चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ।
अस्पतालले यसबारेमा अधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्गाले त्यही विषयमा बैठक बस्दै गरेको बताएका छन्। केही बेरमा आधिकारिक जानकारी सार्वजनिक गरिने उनले बताएका छन्। बिहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे थियो।

आज बिहान टिचिङ्ग अस्पताल पुगेका नरेश अधिकारी भन्छन् “अस्पताललाई शिल गरेर आकास्मिक सेवा मात्र खोल्ने कुरा भैरहेको थियो । तर के कारणले गर्दा शिल गर्ने तयारी भएको हो मलाई थाहा भएन ।”