
राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता नगरे अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् ।
राष्ट्रियसभामा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रायमझीले भारतले भूमि फिर्ता गर्दैन भने अन्तर्राष्ट्रिय अदालत गुहार्नैपर्ने बताएका हुन् ।
भारतले नेपालको भूभाग लिपुलेकमा सडक बनाएपछि प्रतिनिधिसभामा सोविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सांसदहरुले बताइरहँदा रायमाझीले राष्ट्रियसभामा पनि अन्तर्राष्ट्रिय जानुपर्ने सुझाएका हुन् ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी ओलीले भूमि मिचिएकोबारे कुरा नगरेको भन्दै आपत्ति पनि जनाए । “जन्मदिनमा शुभकामना दिन भ्याउने तर, नेपालको भूमि गुमेको विषयमा कुरा गर्न नभ्याउने ? समय नदिने भन्ने कुरा आयो यो अत्यन्त आपत्तिजनक छ,” उनले भने ।
त्यस्तै, उनले अतिक्रमित भूमि फिर्ता गर भन्ने पूर्वकर्मचारी, मानवअधिकारवादी, विद्यार्थी र नागरिकलाई प्रहरीले पक्राउ गरिरहेको भन्दै उनले आफ्नो देशको भूमि रक्षाका लागि जनताले आवाज उठाउन नपाउने भन्दै सरकारलाई प्रश्न पनि गरे ।
सांसद रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज प्रकरणमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा आफ्नो आवाज बन्द गराउन सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको भन्दै उनले भ्रष्टाचारविरुद्ध जेल जानुपर्छ भने आफू पटक–पटक जेल जान तयार भएको सरकारलाई चेतावनी पनि दिएका छन् ।