
नेपालमा संक्रमितको संख्या बढ्न थालेपछि केही खुकुलो बनाइएको लकडाउन थप कडा बनाइने भएको छ ।
केहीदिन अघि सरकारले शर्तसहित ४४ प्रकारका उद्योग खोल्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो गरेको कारणले गर्दा कोरोना भाइरस समुदायमा फैलिन थालेको आकँलन गर्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।
अबदेखि एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।
मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
नोट : यसअगाडी “भोलिदेखि सरकारी कार्यालय समेत बन्द गर्ने तयारी, घरबाट निस्किनेलाई पक्राउसम्म गरिने” भन्ने शीर्षकमा प्रकाशित भएको समाचारलाई पुन:पुष्टि गर्दा गलत भएको थाहा भएकाले यसलाई सच्चाएर प्रकाशित गरिएको छ ।