
दार्चुलाको कालापानी क्षेत्रका लागि सेनाको हेलिकप्टर बन्दोबस्तीका सामान लिएर उडेको छ । बुधवार काठमाडौंबाट दार्चुला पुगेको नेपाली सेनाको हेलिकप्टर विओपीका लागि आवश्यक पर्ने सामान र सशस्त्र प्रहरीको टोली लिएर कालापानी क्षेत्र प्रस्थान गरेको हो ।
कालापानी नजिकै छाङरुमा स्थापना हुने सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली गएको हो ।
नेपाली भूमि मिचिए पछि सरकारले तत्काल त्यसक्षेत्रको सुरक्षा निग्रनी बढाउन सरकारले आज विहान सशष्त्र प्रहरीको टोली छारुङ पठाएको हो।
नेपाली सेनाको एमआइ१७ हेलिकप्टरबाट पुगेका शसस्त्र प्रहरीले घर भाडामा लिएर बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने कार्यक्रम रहेको छ।
टोलीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी बलका एआईजी नारायण बाबु थापा समेत रहेका छन् ।
कालापानी भन्दा १२ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि यसअघि नै जग्गाको टुङ्गो लागि सकेको छ । उक्त स्थानमा विओपी स्थापनार्थ ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु हेलिकप्टर मार्फत ओसारपसार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर बिष्टले जानकारी दिए ।
भारतले लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै अहिले सडक देखी सदन सम्म चौतर्फी बिरोध भइरहेको छ । छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन् ।उनीहरुले सीमा रेखदेखका साथै अपराध नियन्त्रणमा भूमिका खेल्ने जनाइएको छ ।