
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई दिएका सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका छन् ।
देशको सीमामा खटिन सशस्त्र प्रहरीको अभाव भएको तर नेताहरुलाई राज्यले अनावश्यक रुपमा सुरक्षाकर्मी दिएको विषयमा चौतर्फी आलोचना भएपछि श्रेष्ठले आफ्नो सुरक्षा भन्दा देशको सुरक्षा ठूलो भएकाले सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका हुन् ।
थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुस गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।
थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।
— NKShresthaPrakash (@nksthaprakash) May 13, 2020
श्रेष्ठलाई सरकारले १२ जना सुरक्षाकर्मी उपलब्ध गराएको छ ।
पूर्वप्रधानमन्त्रीलाई ५–६ जना तथा पूर्वगृहमन्त्रीलाई दुईजना सुरक्षाकर्मी दिए पुग्ने गृह मन्त्रालयको आन्तरिक मूल्यांकन छ। तर, पूर्वराजादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वमन्त्री, अवकाशप्राप्त सुरक्षाकर्मी तथा केही पहुँचवाला व्यक्तिको घरमा कम्तीमा एक हजार सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयकै तथ्यांक छ।
पूर्वराजा र राजपरिवारको सुरक्षामा अहिले पनि सशस्त्रका एक सयजनाको फौज परिचालन भएको छ । सशस्त्रको समूहले पूर्वराजा ज्ञानेन्द्र मात्र होइन, पूर्वयुवराज्ञी हिमानीको पनि सुरक्षा गर्दछ। राजपरिवारको सुरक्षा आवश्यक भए पनि सयजना केका आधारमा खटाइएको हो भन्ने कुनै मूल्यांकन छैन।
पूर्व प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा ठूलो समूह पुष्पकमल दाहाल, ‘प्रचण्ड’को सुरक्षामा खटिएको छ । उनको सुरक्षामा सशस्त्र प्रहरीका ४८ सुरक्षाकर्मी परिचालित छन् । त्यस्तै डिएसपीको नेतृत्वमा नेपाल प्रहरीको छुट्टै समूह पनि उनको सुरक्षामा खटिएको छ।
सशस्त्र प्रहरीको तथ्यांक भन्छ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा १४, माधवकुमार नेपालको सुरक्षामा १३, लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १०, झलनाथ खनालको सुरक्षामा नौ र डा. बाबुराम भट्टराईको सुरक्षामा आठ सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा सशस्त्रका नौ सुरक्षाकर्मी खटिएका छन्।
त्यस्तै, पूर्वगृहमन्त्रीहरूले पनि ठूलो संख्यामा सुरक्षाकर्मी लगेका छन्। सशस्त्र प्रहरीका अनुसार पूर्वगृहमन्त्री वामदेव गौतमले १३, कमल थापाले १३, नारायणकाजी श्रेष्ठ १२, विमलेन्द्र निधिले ११ र कृष्णप्रसाद सिटौलाले सशस्त्रका ११ सुरक्षाकर्मी आफ्नो सुरक्षामा परिचालन गरेका छन्।
त्यस्तै पूर्वगृहमन्त्रीका रूपमा रामचन्द्र पौडेलले १०, जनार्दन शर्माले १०, भीम रावलले नौ र विजयकुमार गच्छदारले तीन सुरक्षाकर्मी पाएका छन् । त्यस्तै, पूर्वमन्त्री प्रकाशमान सिंहको सुरक्षामा ११, डा. प्रकाशशरण महतको सुरक्षामा ६ र डा. रामशरण महतको सुरक्षामा पाँच सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रको तथ्यांक छ ।
पूर्व गृहमन्त्रीहरूले अवकाशको दुई वर्ष तथा अन्य मन्त्रीहरूले अवकाशको ६ महिनासम्म मात्र सुरक्षाकर्मी पाउने व्यवस्था छ। तर, राजाका पाला गृहमन्त्री भएका कमल थापादेखि गणतन्त्र आएपछि तत्कालीन माओवादीको तर्फबाट गृहमन्त्री भएका नेताहरूले पनि वर्षौंदेखि सुरक्षाकर्मी पाएका छन्।