
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
२७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएको खुलेको छ ।
उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्।
ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको बताइएको छ ।
यस्तै काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ। लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्।
तीनै जना टेकु अस्पतालमा भर्ना भएका छन् ।