सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रीत भएर बजेट आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतीहरु केन्द्रीत गरी बजेट ल्याउनु पर्ने बताएका हुन् ।
देश र जनता सुरक्षीत नभइ कुनै पनि काम अगाडी बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको बताए ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तको छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भएपनि अहिलेम्म कुनै काम सुरु नभएको उनले बताए ।
पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार विन्दु सञ्चालन रहेपनि अहिले सबै बन्द रहेको तर्फ उनले सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माण लगायत व्यक्तिगत आवश्यक उपकरणहरुको प्रवन्ध गर्ने नीति अघि सार्न आग्रह गरे ।
उनले भने, “कालापानी क्षेत्रमा नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा बुझेका हौँ । तर अहिलेसम्म काम सुरु भएको छैन । सीतापुलमा भारत र तिंकरमा चीनसँगको भन्सार पञ्चायतकालमा समेत सञ्चालनमा थियो । नीति र सिद्धान्त राष्ट्रिय सुरक्षामा केन्द्रीत हुन्छ भने यी कुराहरुलाई केले रोकेको छ ?”
ग्रामिण क्षेत्रमा उत्पादन हुने तरकारी कुहिएर जाने अवस्थामा भारतबाट ट्रकका ट्रक नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यी कुराहरु समेट्न गम्भिरता देखाउनु पर्ने बताए । सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारेपनि व्यवहारमा दलाल, नोकरशाही र पूँजीपतिहरुलाई प्रशय दिइएको उनले बताए ।