
सप्तरीबाट ट्रकमा लुकेर आएका एक मजदुरलाई प्रहरीले अस्पताल पुर्याएको छ।
काठमाडौंमा उद्योग खोलेपछि काम गर्न आएको बताएका उनलाई अस्पताल पठाइएको काँडाघारी प्रहरी प्रभागले जनाएको छ।
उनलाई लुकेर आएको देखेपछि पेप्सीकोलामा केहीबेर होहल्ला मच्चिएको थियो।
त्यसपछि काँडाघारी प्रभागबाट गएको प्रहरीले सोधपुछ गरेर उनलाई अस्पताल पठाएको प्रहरीले जनाएको छ।
लकडाउनका बेला सबै उद्योग तथा संघसंस्था बन्द भएपछि गाउँ फर्किएका मजदुरहरु उद्योग सञ्चालन हुन दिएसँगै राजधानी फर्किन थालेका छन्।
त्यस्तै कोरोना भाइरस संक्रमित बढेछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ।
गृहमन्त्रालयले मंगलबार एक निर्णय गर्दै जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जानका लागि यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेको छ।
‘कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो’, गृहका सूचना अधिकारी एवम् उपचसचिव उमाकान्त अधिकारीले भने, ‘एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई-पाससहितका सम्पूर्ण पास रद्द गरिएको छ।’
गृहले एउटै जिल्लाभित्र आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने नियम लागू गर्ने निर्णय लिएको छ।
अधिकारी अनुसार अब परिचय पत्र मात्रै देखाएर सडकमा निस्कन पाइँदैन। सरकारले सातअघि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग र निर्माण क्षेत्रसहितका मानिसहरुले आफू कार्यरत कार्यालयको परिचय पत्रका आधारमा सवारीसाधन चलाइरहेका थिए। तर अब परिचयपत्र देखाएर सडकमा निस्कन पाइनेछैन। अधिकारीका अनुसार अनिवार्य स्थानीय प्रशासनबाट जारी गरिएको सवारी पास देखाउनै पर्ने हुन्छ।