
नेपालमा संक्रमितको संख्या बढ्न थालेपछि केही खुकुलो बनाइएको लकडाउन थप कडा बनाइने भएको छ ।
केहीदिन अघि सरकारले शर्तसहित ४४ प्रकारका उद्योग खोल्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो गरेको कारणले गर्दा कोरोना भाइरस समुदायमा फैलिन थालेको आकँलन गर्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।
आज मात्र नेपालमा ७४ जना संक्रमित फेला परेका छन् ।
अब भोलीदेखि एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।
मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
केही दिनदेखि लकडाउन खुलेको झल्को दिनेगरी राजधानीका सडकमा सवारी साधनको भिड लाग्न थालेको थियो । हेर्नुहोस तलको तस्विर
प्रधानमन्त्री केपी ओली मंगलबारको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र सदस्य रहेका मन्त्रीहरुसँग रिसाएका थिए ।
‘तपाईंहरुले खुकुलो पारौं भन्नु भयो । यो भावनामा डुबेर निर्णय गर्ने बेला होइन’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘मान्छे नै रहेन भने आर्थिक गतिविधि खुला गरेर के हुन्छ ? पहिला मान्छे बाँच्नुपर्छ ।’
मन्त्रिपरिषदले शुक्रबारदेखि ४४ प्रकारका उद्योग खोल्न अनुमति दिएको थियो । यस्तै सरकारी कार्यालयहरुमा एक तिहाई कर्मचारीलाई हाजिर गराइएको छ ।