लण्डन । बेलायतको प्लमस्टिडबाट आइतबार दिउँसोदेखि हराइरहेकी ६६ वर्षीय धनमाया थापा मृत अवस्थामा फेला परेकी छन् ।
प्लमस्टिड कमनको झाडीमा सोमबार बेलुकी भेटिएको प्रहरीले जानकारी दिएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)की कोषाध्यक्ष तथा ग्रीनीच एक्स गोरखा एसाेसिएसन (जीगेसा) की सल्लाहकार देवीमाया पुनले जानकारी दिइन् ।
घटनास्थलमा प्रहरीले कसैलाई जान दिएको छैन । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । पाल्पा स्थायी घर भएकी ६५ वर्षीया धनमाया लण्डनमा श्रीमान र छोरा, बुहारीका साथ बस्दै आएकी थिइन् ।
मृत भेटिएकी धनमायाको शव फेला परेपछि प्रहरीले सोमबार राति उनको घरमै आएर जानकारी दिएको भएपनि मृत्युको कारण भने थाहा हुन सकेको छैन ।
१५/ २० मिनेटमा फर्किन्छु भनेर आइतबार दिउँसो निस्केकी धनमाया घन्टौंसम्म घरमा नफर्केपछि परिवारद्वारा सोधीखोजी गरिएको थियो । परिवारका सदस्य लगायत आफन्तहरु मिलेर पार्क वरपर खोजी गर्दा पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
उनको शवलाई मेट्रो पोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ ले फेला पारेको थियो । विगत ९ वर्षदेखि लन्डनको प्लमस्टिडमा बस्दै आएकी स्व.धनमाया श्रीमान र छोराबुहारीसंग बस्दै आएकी थिइन् ।