काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छवी व्यग्य, टुक्का र उखानवाट तार्कीक वहस गर्ने नेतामा गनिन्छ । उनी कुनै पनि विषयवस्तुलाई निकै चोटिलो पाराले उठाउँछन् । मंगलवारको मन्त्रीपरिषदको बैठकमा पनि प्रधानमन्त्रीले यस्तो व्यग्य गरे । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउनका क्रममा पनि निकै भिडभाड देखिएको छ । सडकमा सवारी साधनको जाम छ । सार्वजनिक भएका तस्बिरहरुले लकडाउनको औचित्य नभएको पुष्टि गरेको छ । सोही कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरे । सुरु देखि नै लकडाउन कडा बनाउनुपर्ने पक्षमा रहेका प्रधानमन्त्री ओली काठमाडौंको अहिलेको अवस्थाले असन्तुष्ट छन् । दिनहुँ कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सोही कुरालाई दोहोर्याएका हुन् । उनी काठमाडौंको अहिलेको अवस्था देखि निकै आक्रोशित देखिन्थे । अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका छन् ।
‘काठमाडौंमा लकडाउन छ र ? प्रधानमन्त्रीले आफ्ना कुरा राख्न सुरु गर्दा भनेको वाक्य हो यो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘यसलाई लकडाउन भनिँदैन । आर्थिक गतिविधिमा प्रभाव पर्छ भन्ने नाममा लकडाउन खुकुलु बनाउन नहुने उनको तर्क थियो । जीवन रहे अर्थतन्त्र जोगाउन सकिने बताए । उनले सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि । ’
बैठकमा लकडाउनबारे कुनै एजेण्डा नभएपनि प्रधानमन्त्री ओली भने त्यसैमा केन्द्रित भए । उनले आफ्नो असन्तुष्टि बैठकमा पोखे । पछिल्लो अवस्थाले झन लकडाउनको औचित्य पुष्टि भएको उनको भनाई थियो । मन्त्रिपरिषद् बैठककै बीचमा पर्सा, रुपन्देही र कपिलवस्तुमा आज मात्रै ५७ जनामा संक्रमण पुष्टि भएको खबर पुगेको थियो । प्रधानमन्त्री ओलीले यस्तो अवस्थाले नचल्ने भन्दै मन्त्रीहरुलाई लकडाउन थप कडा गर्न निर्देशन दिएका छन् ।
सरकारले आइतबारदेखि उपत्यकामा लकडाउन खुकुलो गरेसँगै चहलपहल बढेको छ। लामो समय घरभित्रै बसेका सहरवासी बाहिर निस्कन थालेका छन्। सुनसान बनेका सडक, पसल र भित्री गल्लीमा मानिसको भीडभाड बढेको छ।
दुई दिनयता सहरको दृश्य र चहलपहल हेर्दा उपत्यकामा लकडाउन नभएको महसुस हुन्छ। तर सरकारले यस्तो चहलपहल हुनेगरी लकडाउन खुकुलो गरेको भने होइन। अत्यावश्यक सरकारी कार्यालय र उद्योग, खाद्यान्न पसल, कृषि सामग्री ढुवानीलगायत पक्षलाई ध्यानमा राखेर ससर्त निर्णयसहित उपत्यकालाई आइतबारदेखि खुकुलो पार्ने रणनीति अपनाइएको थियो। यसको अर्थ कसैलाई पनि बिनाकाम बाहिर निस्कन दिइएको भने होइन। तर उपत्यकामा दुई दिनयता बाहिर निस्कने क्रम बढेको छ।
लकडाउनमा कडाइ नगर्दा उपत्यकामा जथाभावी बाहिर निस्कने क्रम भने बढेको छ। लकडाउन गरेको लामो समय भएपछि जनजीवन र आर्थिक क्रियाकलापलाई मध्यनजर गर्दै सरकारले लकडाउन खुकुलो पारे पनि त्यसले झन् जोखिन निन्तिन सक्ने देखिने सरकारी अधिकारीहरू नै बताउँछन्।