
दैनिक कोरोना संक्रमित बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन खुकुलो बनाइएका कारण कोरोना संक्रमित बढेको भन्दै असन्तुष्टी जनाएका छन्। .
मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाइएको र बाहिरबाट आएका नागरिकले आफ्नो कर्तव्य पूरा नगरेका कारण कोरोना संक्रमण समुदायमा फैलिएको बताएका थिए।
उनले यस्तो अवस्थामा बाहिरका मानिस स्वदेश फर्किएपनि सरकारी मापदण्ड पूरा गरेको भए अहिलेको अवस्था नआउने भन्दै स्वदेश फर्किने अधिकार खोज्दा कोरोना संक्रमण समुदायमा फैलिएको प्रधानमन्त्रीले बताएको एक मन्त्रीले जानकारी दिए।
उनले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् । उनले अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत भए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका छन् ।
‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै आफ्नो कुरा राख्न थालेका प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘यसलाई लकडाउन भनिँदैन । आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भए भन्ने नाममा लकडाउन खुकुलो भएपछि कुनै अर्थ हुन्न । जीवन रहे अर्थतन्त्र पनि जोगिएला । सुनको बाक्सामा मान्छे राखेर के गर्नु, मरेपछि त सक्किगो नि ।’
बैठकमा लकडाउनबारे कुनै एजेण्डा थिएन । तर, प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिएका छन् । उनले यस्तोलाई लकडाउन भनिँदैन भन्दै पछिल्ला संक्रमणको संख्याले लकडाउनमा खेलाँची गर्न नहुने देखाएको बताए ।
‘सरकारले त एउटा मापदण्ड बताउने हो तर त्यसको पालना गर्ने त नागरिकले हो,’ बैठकमा प्रधानमन्त्रीले भनेका थिए, ‘हामीले सकेसम्म बाहिरबाट कोही पनि नआउनु भन्ने चाहेका थियौं, तर सबैले अधिकारको कुरा गरे, उहाँहरु आएर पनि सरकारले तोकेको मापदण्ड पूरा गरेको भए अहिलेको जस्तो अवस्था आउने थिएन।’
मंगलबारको मन्त्रिपरिषद बैठकमा लकडाउन र यसका मेडालिटीका विषयमा छलफल नभएपनि प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेको एक मन्त्रीले जानकार दिए।
आज नेपालमा सबैभन्दा धेरै अर्थात ५७ जनामा कोरोना संक्रमण भेटिएको छ । यति ठूलो संङख्यामा कोरोना देखिएको यो पहिलो पटक हो ।