
काठमाण्डु, ३० वैशाख– नेपालमा मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका ५७ जना सबै भारतबाट आएको खुलासा भएको छ ।
उनीहरुलाई लकडाउनका बेला भारतीय सुरक्षाकर्मीले जबर्जस्ती सीमामा ल्याएर छाडेका थिए । कोभिड–१९ महामारीका कारण नेपाल र भारत दुवैतिर लकडाउन छ । भारतीय सुरक्षाकर्मीले बलजफ्ती नेपालीलाई गाडीमा राखेर सीमा क्षेत्रमा छाडेर जाने गरेका छन् ।
ती उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितमध्ये पर्साका ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना छन् । ती सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहकायक प्रवक्ता डा. समीरकुमार अधिकारीले ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।