
अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ ।
यही वैशाख २६ गते ७३ वर्षीया आमा मनकुमारी श्रेष्ठको निधन भएपछि अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद गरी छुट्टै ठाउँमा श्रेष्ठ र उनकी श्रीमती सरिता नेपालीलाई छाप्रो बनाएर राखिएको छ ।
१४ वर्षअघि अन्तरजातीय विवाह गरेका श्रेष्ठ बिहे गरेदेखि नै छुट्टै बस्दै आएका छन् । आमाको अन्तिम दाहसंस्कारमा दागबत्ती दिन समेत रोक लगाइएको थियो । काजक्रियाका लागि घर नजीकै एउटा छाप्रो बनाएर श्रेष्ठलाई राखिएको छ ।
यो खबर थाहा पाए लगत्तै शनिबार बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले परिवारका सदस्यलाई भेटेर घरभित्रै अरुसरह नै संँग राखेर काजक्रियामा सहभागी गराउन अनुरोध गरेका छन् ।
‘अन्तरजातीय विवाह गरेकै आधारमा छुट्टै राख्न पाइँदैन, घरभित्रै अरु सरहसँगै राख्न निर्देशन दिएको छु ’, अध्यक्ष बस्यालले भने । श्रेष्ठका तीन भाइ दाजुभाइमध्ये दुई भाइ विदेशमा छन् ।
उनलाई अन्तरजातीय विवाह गरेको भन्दै बुटवलमा बसोबास गरेका जेठी आमाका छोरा रामलाल आएपछि मात्र पार्थिव शरीरमा दागबत्ती दिइएको थियो । अन्तरजातीय विवाह गरेदेखि नै पूर्णमान ससुरालीमा बस्दै आएका छन् । पोखरामा गाडीमा सहचालकको काम गर्ने श्रेष्ठका श्रीमती र दुई सन्तति छन् ।