पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ। सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ ।
सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ ।
पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ ।
आइतबार बेलुकासम्म पाकिस्तानमा २९ हजार ४ सय ६५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ९१ जना नयाँ विरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६ सय ३९ पुगेको छ । कोरोनाभाइरसका कारण विरामी भएका मध्ये ८ हजार २३ जनालाई भने निको भइसकेका छन् ।