
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले केही समयअगाडि रक्षामन्त्री ईश्वर पोखरेल लिपुलेक क्षेत्रमा भ्रमणमा गएपछि के काम गरे भनेर प्रश्न गरेका छन् ।
गत फाल्गुन ५ गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितको टोलीले कालापानी, लिपुलेक लगायत भारतसँगको विवादित सीमा क्षेत्रको अवलोकन गर्ने नेपाली सेनाको हेलिकोप्टरबाट गएको थियो तर कालापानी नै नपुगी उक्त टोलीले व्यास गाउँपालिकाको छाङरु, क्षेत्रको अवलोकन गरेर सदरमुकाम फर्किएको थियो । अत्यधिक हिउँका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको र टोलीले हेलीकप्टरबाटै अवलोकन गरेको समाचार प्रकाशित भएका थिए
आइतबार संसदमा नेता थापाले प्रश्न गर्दै भने, ‘भारतको हस्तक्षेप र अतिक्रमणको घोर भर्त्सना गर्दछु, केही समयअगाडि रक्षामन्त्रीजीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तिर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनुभयो र सरकारले यो बीचमा के काम गर्यो ?’
नेता थापाले हाम्रो भूमिमा एक ईञ्च पनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसँग भन्न सरकारलाई आग्रह गरे ।
उनले भारतीय दादागिरीमा चीनले पनि सहयोग गरिरहेको आशंक व्यक्त गरे । ‘भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार छन्,’ उनले प्रश्न गरे, ‘सरकारले हामीबाट के सहयोगको अपेक्षा गरेको छ ? हामी जान्न चाहन्छौं ।’
हेर्नुहोस भिडियो