काठमाडौंमा नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला कलंकी चोकमा जलाइएको हो ।
अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिको अगुवाइमा काठमाडौंको कलंकी चोकमा प्रधानमन्त्रीद्वयको पुत्ला जलाइएको हो ।
भारतले नेपालको क्षेत्रमा मानसरोवर सम्म पुग्ने मोटरबाटो खुलाए पछि लकडाउनकाबीच पनि विरोध सुरु भएको छ ।भारतले नेपाली भूमीमा पर्ने गरी बाटो बनाएकोले भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएको अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौंका अध्यक्ष गोबिन्द विष्ट बताए ।
नेपालका प्रधानमन्त्रीको पुत्ला किन जलाउनु भयो भन्ने जिज्ञासामा विष्टले भने, ‘भारतीय विस्तारवाद र साम्राज्यवादलाई नेपालमा चलखेल गर्ने वातावारण यो सरकारले नै बनाएको हाम्रो ठहर छ।
आज मात्र सामाजिक दुरी कायम गरी भारतीय विस्तारवादको विरोध गरिरहेका पूर्व जर्नेल सहित विद्यार्थीलाई समेत प्रहरीले पक्राउ गर्नु भनेको सरकारले भारतले गरेको ठीक छ भन्नु हो। त्यसैले प्रधानमन्त्री ओलीको पनि पुत्ला जलाएका हौं।’
आज अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिले एक विज्ञप्ती जारी गर्दै बैशाख ३१ गतेसम्म विरोधका कार्यक्रम तय गरेको छ ।