
शनिबार (आज) मात्र नेपालमा ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् ।
शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उदयपुरका १८, ४५ र ६५ वर्षीया महिलामा संक्रमण पुष्टि गरेसँगै साँझ थप एक ४३ वर्षीया महिलामा संक्रमण देखिएको हो। योसँगै उदयपुरमा संक्रमितको सङख्या शनिबार मात्रै ४ पुगेको छ भने अहिलेसम्म सो जिल्लामा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। देशभर गरेर संक्रमितको संख्या ११० पुगेको छ।
संक्रमितको संख्या ११० पुग्दा ७८ पुरुष र ३२ महिला छन्। तीमध्ये केही नावालक पनि छन् । संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन्। ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। बिरगन्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा ६, नेपालगन्जमा २४, र भरतपुरमा १ जना गरि जम्मा ७८ जना उपचार गराइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशका ५ संक्रमित हुन्।
कोरोना संक्रमितको संख्या बढेसँगै उदयपुरको भुल्के आसपासको क्षेत्रमा स्वाब परीक्षणलाई तिव्रता दिइएको छ। शनिबार बिहान ३ जनामा संक्रमणको पुष्टि भएपछि दिउँसो स्वास्थ्यकर्मीको टोलीले १ सय ४३ जना स्थानीयको स्वाब संकलन गरिएको छ।