
यति बेला विश्व जगत कोरोना कहरको चपेटामा छ । हरेक दिन कोभिड–१९ को संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढेकै छ । यस महामारीको खास औषधी नबनेकाले संक्रमणबाट कसरी छुटकारा पाउने भन्नेमा विश्व मानव जगत चिन्ता ग्रस्त छ । रोगबाट बच्नका लागि जति मानिसमा चिन्ता जागेको छ त्यो भन्दा थप चिन्ता भोकबाट बच्न भावि दिनका के कसरी सहज होला भन्नेमा ध्यान जान थालेको छ । अर्थात भोलिका दिनमा भोकमरी नलागोस् खान पाईयोस भन्ने जमात नेपालमा ठुलै संख्यामा देखिन थालेको छ । यसको कारण हो नेपालले एक महिनाको लकडाउनको समस्या भोगिसकेको छ । यो लकडाउनको समय सिमा कति लम्बिने हो कुनै टुङ्गो पनि छैन । नेपालमा मात्र होईन छिमेकी मुलुक भारतमा पनि यो समस्या झन विकराल छ । अहिले उद्योग धन्दा चौपट नै छ । केवल रोगबाट जोगिने र भोकबाट बच्ने उपाय अपनाउनु यस विषम परिस्थितिको सामना गर्ने दरिलो हतियार साबित भएको मानिन्छ । तर मौजुदा खाद्यान्नले अबको ४ महिना भन्दा बढी धान्न सक्ने कुनै आधार न नेपालमा छ नत छिमेकी मुलुक भारतमा नै । अर्थात हरेक राष्ट्रमा भोलिका दिनमा खाद्यान्नको समस्या बढेर जानाले चाहेर पनि एक देशले अर्को राष्ट्रलाई खाद्य सहयोग गर्ने परिस्थिति रहँदैन ।
मानिसलाई जिउनको लागि पहिलो प्राथमिकतामा खाद्यान्न नै चाहिने हुन्छ । खान नपाउनेको संख्या अत्याधिक वृद्धि भएमा देशमा भोकमरी लाग्ने हुन्छ तर यस्तो अवस्था आउन नदिनका लागि बेलैमा नेपाल सरकार र स्थानिय तहले एउटा बलियो सोच बनाउनु आवश्यक छ । त्यो के भने विश्व संकटमा रहेको समय आफूलाई आउने समस्यासँग मुकाविला गर्ने स्रोत र साधनहरुको भरपुर उपयोगमा लाग्ने । यसको मतलब यो होईन कि लकडाउनलाई आम नागरिकले उपेक्षा गरुँन । तर यसको मतलब बाली लगाउने र बाली भित्र्याउने समयको सहि सदुपयोग गराउने तर्फ सबैको उचित ध्यान जानु पर्दछ । रोगबाट बच्नु पर्छ एउटा कुरा हो तर भोगबाट बच्न र बचाउन सकिएन भने त्यो झन ठुलो समस्या बनेर आउने हुन्छ । केहि यस्ता पनि समाचार आएका छन् कि किसानको बाली लगाउने ठाउँमा प्रहरीद्धारा दमन गरियो, बाली भित्र्याउन दिईएन । यदि यि समाचारहरुमा सत्याता रहेछ भने यो काम कुनै हालतमा ठिक भएन । हो सरकारले नागरिक जीवन रक्षाका लागि चालेका कदमहरु जाहेज छन् तर ति कदमहरु कुन स्थानमा कति उचित र प्रभावकारी छ त्यस सलावमा पनि ध्यान दिन आवश्यक छ । जनचेतनाको माध्यमबाट नागरिक सूसुचित गराउने कार्यमा राज्य चुक्नु हुँदैन तथापि क्षेत्रगत संयमताका आधारमा संचालन गरिने कामकाजलाई किमार्थ दुरुत्साहन गर्नु आवस्यक हुन्न । सामाजिक दुरी कायम गर्दै किसानलाई कृषिकार्यमा लाग्न राज्यले भरपुर उत्प्रेरणा दिनु पर्छ । यदि यसो गरिएन भने बेमौसममा कुनै बाली लगाए पनि त्यसले उत्पादन दिदैन भन्ने सोचको विकास गरिनु सबैका लागि हितकर मानिन्छ । मानिसले भनिरहेका छन् रोगबाट मर्नु र भोकबाट पिल्सिएर छट्पटाउनु नितान्त फरक विषय हो भनेर । हुन त कसैलाई यो पनि लाग्ला कि लक्ष्यमा पुग्न हरेक चूनौतिको सामना आवस्यक छ । तर त्यसो भन्दै गर्दा रासन पानी विनाको जीवन कसैका लागि पनि हितकर हुँदैन चाहे त्यो जितमा होस् या त हारमा नै ।
चैत्र महिना चैते धान लगाउने समय देखि नै नेपालीले लकडाउनको चपेटामा जीवन गुजारा गर्दै आएका छन् । यसको नकारात्मक असर बर्खे धान वालीमा पनि प्रत्यक्ष पर्छ नै । बैशाख महिना पाखो वाली (मकै) लगाउने याम हो । यस समयमा जति मात्रामा मकै लगाउन सकियो त्यतिनै खाद्य अभावको समस्या घट्छ । नेपालीहरुको पहिलो खाद्यवाली धान पछि मकैलाई दोस्रो वालीमा लिईएको छ । मकैको उत्पादन बढाउनका लागि यतिवेला पहाडी भेकका अधिकांस स्थानमा मकै रोप्ने कार्यलाई टेवा दिनु पर्ने हो त्यो त्यति सहज छैन । मकै खेती गर्न जति संभव छ मलखाद लगायत अन्य समस्याको कारण उत्पादन बढ्ने बलियो आधार छैन । यो विषम परिस्थिति लम्बियो भने धान वालीमा प्रत्यक्ष प्रभाव पर्छ र उत्पादन स्वतः घटेर जान्छ । यस प्रकारको परिस्थितिले खाद्यान्न माथिको परनिर्भरता बढोर जाने हुन्छ । अबको मुख्य राष्ट्रिय चुनौति भनेकै अर्थतन्त्रलाई जिवित राख्दै खाद्यान्न माथिको परनिर्भरता घटाउनु हो र कृषि उपजको उत्पादन बढाउनु हो । खाद्य उत्पादन लिनका लागि कम्तिमा पनि छ महिनाको समय चाहिन्छ । तर तिनै कृषि उपजहरु हरेक दिन मानिसका लागि नभै हुँदैनन् । दुई महिना मोटर गुड्ने बाटो नबनाउँदा पनि मानिसको दैनिकी जसोतसो चल्ला तर दुई महिना पछि भोक टारौला भात खाउँला भनेर जीवन चल्दैन । त्यसकारण जुन जमिनमा जे वस्तु फल्छ त्यहि बाली लगाउने कार्यमा सबैको ध्यान पुग्नु आवस्यक छ ।
भोकले छट्पटाएको अवस्थामा एउटा स्याउ खानाले जति शरिरमा तागत दिन्छ हजारका एक बन्डल नोट बेकाम बन्दछन् ।
आधुनिक समाजको मेरुदण्ड भनेको अर्थतन्त्र नै हो । चाहे त्यो दिगो राजनीतिक स्थिरताका र समुन्नत राष्ट्र विकासका लागि किन नहोस् । दिगो स्रोतका रुपमा कृषिलाई बनाउन सकिएन भने अबको अर्थतन्त्र हामीले सोचेको भन्दा धेरै नकारात्मक हुनेनै छ । कारण त्यहि हो विश्वका धेरै राष्ट्रले आर्थिक मन्दीको सामना गर्दै छन् । परिणाम हरेक राष्ट्रहरुले रोजगारी गुमाउने छन् र उत्पादन घटाउन बाध्या हुने छन् । जुन राष्ट्रका जनता खाद्यय परनिर्भरतामा बाँचेका छन् उनिहरुको भविष्य कस्तो रहला त्यो भोलिका दिनले नै प्रमाणित गराउला । तर आफ्नो देशलाई खाद्यान्न पु¥याउन सक्ने सामथ्र्य जसले काय राख्छ तिनीहरु भोलिका दिनमा अब्बल साबित हुने देखिन्छन् । हामीले आफूलाई अब्ब सावित गराउन त नसकौला तर आफ्नु पेट आफैले पाल्ने परिस्थिति बन्यो भने त्यो भन्दा अर्को सुन्दरता तत्कालिन समय राज्यका लागि अरु कुनै हुँदैन । यसलाई हामीले किमार्थ नजरन्दाज नगरौं कि भोकले छट्पटाएको अवस्थामा एउटा स्याउ खानाले जति शरिरमा तागत दिन्छ हजारका एक बन्डल नोट बेकाम बन्दछन् । मतलब यो हो कि वस्तुको उत्पादन विना क्रेता र विक्रेताको मोलमोलाईले नत स्थान पाउँछ नत उपभोक्ताले सन्तुष्टि नै । यसका लागि हामीले हाम्रो घर आँगन र कौसीमा पनि दैनिक उपभोग्य कृषि उपज उत्पादन गर्न सक्छौ त्यतातिर नजर अलि बढी लगाउनु पर्छ । यस प्रकारको कदमले एकातर्फ खाद्यय परनिर्भरता माथिको चाप कम हँदै जान्छ भने अर्कातर्फ खेर जाने जमिनको सदुपयोग बढ्दै कृषि कर्ममा आकर्षण बढ्न जान्छ । आफ्नै सागसब्जी उत्पादनले दैनिक चुलो बल्ने काम ग्रामिण भेगमा शत प्रतिशत र शहरी भेगमा बीस प्रतिशत पुग्ने हुन्छ । यो भनेको कुल साट्ठी प्रतिशत जनताले आफूलाई चाहिने सागसब्जी आफैले उत्पादन गर्न सक्ने अवस्था बन्नु हो । हेर्दा काम खास त्यति ठुलो पनि छैन तर यसले आम उपभोक्ताको जीवन स्तरमा सहजता ल्याउन र राष्ट्रिय संकटको बेला सबैले सामुहिक रुपमा मिलेर सामना गर्ने मनोविज्ञानको पनि विकास भएर जान्छ ।
ईतिहास जीवित छ, वेलायतमा सत्रौं शताब्धीको मध्येताका कृषिमा सुरु गरिएको परिवर्तनकारी क्रान्तिले आर्थिक उन्नति पनि बढायो र तात्कालिन वेलायती शासन व्यवस्थालाई समेत पल्टायो । सामान्य समयमा राजनीतिद्धारा अर्थनीति निर्धारण गरिएको हुन्छ र त्यसै अनुरुप कृषि नीति अख्तियार गरिन्छ । तर यो विषम परिस्थितिमा अर्थतन्त्रको सामान्य सिद्धान्तले मेल खाँदैन । यो महामारीको विषम अवस्थामा जुन देश आफ्नो आन्तरिक स्रोत साधानको उचित प्रयोगबाट अगाडी बढ्छ उसको भविष्य उज्जवल हुन्छ । अतः हामी नेपाली हाम्रो अधिकांस भू–भाग ग्रामिण वस्तिमा केन्द्रित छन् । आय आर्जनको स्रोत कृषि मानिदै आएको छ । खेतीपाती कार्य सञ्चालन गर्नका लागि जमिन पनि प्रशस्तै छन् । विकल्पका रुपमा कुटो, कोदालो चलाउनु तपाई हामीलाई कुनै तालिमको आवश्यकता पनि पदैन । अतः अबको केही समय कृषि कार्यमा हामी सबै लागौं र आर्थिक विकासमा सकेको योगदान गरौं ।
डा. उत्तम खनालको यस विचारमा प्रतिक्रिया दिनको लागि khanaluttam24[at]yahoo.com मा इमेल पठाउन सक्नुहुन्छ।