
कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख ३४ हजार नाघेको छ ।
वर्लडमिटरर्स डट इन्फोको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा ६ हजार ८ सय ११ जनाको मृत्यु भएको छ ।
अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको छ ।
युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ५ सय २८ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ७ सय ९९ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैँ सामान्य रहेको छ ।
विगत २४ घण्टामा इटालीमा ३ सय ६९, स्पेनमा २ सय ४४ र फ्रान्समा २ सय ७८ जनाको ज्यान गएको छ ।