
नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित पुष्टि भएसँगै बर्दियाको गुलरिया कारागारमा उच्च सतर्कता अपनाइएको छ ।
कैदीबन्दीलाई संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको कारागार प्रशासनले जनाएको छ ।
कोराना भाइरसको जोखिमलाई ध्यानमा राखी कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको कारागारका जेलर डिल्लीराज पौडेलले बताउनुभयो ।
जेलरका अनुसार कारागारको एउटा कोठामा क्वारेन्टटाइन बनाइएको छ । कारागारमा चलान गरिने कैदीबन्दीलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र राखिने गरिएको छ ।
कैदीबन्दीलाई सेनिटाइजर, मास्क र साबुनको पनि व्यवस्था मिलाइएको छ । बन्दाबन्दी अवधिमा कारागारमा दुई पुरुष बन्दी थपिएका छन् । यससँगै हाल त्यहाँ २७७ कैदीबन्दी छन् ।
तीमध्ये २६४ पुरुष, १२ महिला र एक आश्रित बालक छन् ।
कारागारको क्षमता भने १०० पुरुष र २५ महिला गरी १२५ जनाको मात्र रहेको जेलर पौडेलले जानकारी दिनुभयो । कारागारमा पाँच जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको र १४ दिनसम्म राख्ने गरिएको बताइएको छ ।