
२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।
सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो, तेस्रोपटक लकडाउन थप्दै बैशाख ३ गतेसम्म लम्बाएको सरकारले चौथौ पटक बैशाख १५ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।
यो लकडाउन थपेको पाँचौं पटक हो ।
देशव्यापी लकडाउन, सामाजिक दूरी, सरसफाइजस्ता उपायबाट नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रसारलाई रोक्ने प्रयास गरिएको बताइएको छ तर लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ।
लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।
प्रशासनको अनुमतिविना मानिसको हिँडडुलमा रोक लगाइएको छ । हवाई उडानसँगै नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द गरिएको छ । उद्योग/कलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छन् । ११ चैतदेखि गरिएको लकडाउन ले गर्दा जनजीवन कष्टकर बनेको छ । कतिपय मानिसले भोकसँग जुध्नुपरेको छ ।