
काठमाडौँ । सनसिटी अपार्टमेन्टका कोरोना मुक्त भएका एक व्यक्तिमा पुन: कोरोना संक्रमण देखिएको छ ।
डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।
उनको फलोअप आउँदा पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना मुक्त भएर घर गएका व्यक्तिमा पुन परीक्षण गर्दा पोजेटिभ देखिएको यो पहिलो केस भने होइन् । विश्व स्वास्थ्य संगठनले यसअगाडी नै संक्रमित व्यक्तिहरुमा पुन कोरोनाको लक्षण देखिन सक्ने बताएको थियो । नेपालमा मात्र होइन अन्य देशहरुमा पनि यस्ता केसहरु बाहिर आइरहेका छन्
रौतहटमा पनि उस्तै केस
नारायणी उपक्षेत्रिय अस्पतालबाट डिस्चार्ज भएका रौतहटका युवक एक हप्ता नबित्दै पुन : कोरोना अस्पतालमा भर्ना भएका छन् ।
उनलाई फेरी कोरोना पोजेटिभ देखा परेपछि बैशाख २० गते शनिवार राति नारायणी अस्पतालमा भर्ना भएका हुन् ।
बैशाख १ गते कोरोना पोजेटिभ देखा परेपछि नारायणी अस्पतालमा भर्ना भएका ती युवकको रिपोर्ट केन्द्रिय प्रयोगशाला टेकुले १३ गते निगेटिभ भएको पुष्टि गरेको थियो ।