
डेढ महिनासम्म एउटै मोडालिटीको लकडाउनमा बसेको भन्दै कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि लकडाउनको मोडालिटी हेरफेर हुने भएको छ। नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज दिउँसो ४ बजे वालुवाटारमा बस्ने बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो।
कोरोना भाइरसको संक्रमित बढ्दै जाँदा लकडाउन थप गर्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक अपराह्न चार बजे बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ । आजको बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि बैठकले खाका तय गर्नेछ ।
यता, समितिले लकडाउनलाई निरन्तरता नै दिने तयारी गरिसकेको छ । समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय भइसकेको छ ।
बैठकले लकडाउनको मोडालिटी बारे छलफल गरी जनजीवनलाई थप सहज बनाउने तयारी भएको रक्षामन्त्रीको सचिवालयले जनाएको छ। लकडाउनलाई थप सहज बनाई जनजीवनलाई सहज बनाउने र संक्रमितको संख्या बढ्दै गएको क्षेत्रमा थप कडाइ गरेर गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारलाई सुझाव दिने तयारी थालेको सचिवालय स्रोतले जनाएको छ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो। समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री सदस्य रहेका छन्।
समितिको हिजोको बैठकमा विज्ञहरूलाई समेत सहभागी गराएर खाका तयार गरिएको हो । समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्ने खाका तयार गरेको हो ।
यता, भारतसँग सीमा जोडिएका इलाकामा जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायका प्रमुखहरूले पनि त्यहाँ थप कडाइ र लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिइसकेका छन् ।