काठमाडौं, २२ बैशाख । सरकारले पुनः लकडाउन थप गर्ने तयारी गरेको छ । सिंहदबरबारमा सोमबारर बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा केहि दिन लकडाउन थप गर्न सकिने बिषयमा छलफल भएको हो ।
त्यस्तै लकडाउनले आर्थिक क्षेत्रमा पारेको असरका कारण यसलाई केहि खुकुलो बनाएर जाने बिषयमा पनि छलफल भएको थियो । यसअघि सुरक्षा संयन्त्रले लकडाउन बढाउन समितिलाई सुझाव दिएको थियो ।
बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा भइरहेका कामको समीक्षा गर्दै आगामी रणनीतिका बारेमा छलफल भएको जानकारी दिए ।
उनले लकडाउन खोल्ने बिभिन्न मोडालिटीका बारेमा छलफल भएको र मंगलबार बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।
उनले भने,‘ संक्रमणको सँख्या पनि बढ्दै गएकोले सरकारले तोकेको २५ गतेको लकडाउनको अवस्थापछि थप गर्ने विषयमा छलफल तथा विश्लेषण भइरहेको छ, भोलि समितिको बैठकले खाका पेश गर्नछ । सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ ।’
कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। चरणबद्ध रुपमा थप गरिएको लकडाउन वैशाख २५ गते सकिँदैछ ।
नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।