
शरीरमा छर्किने स्प्रेले कोरोना भाइरस मर्दैन, हानि गर्छः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा कोराना भाइस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नमर्ने जनाएको छ।
नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्प्रेले भाइरस नमर्ने भन्दै भ्रममा नपर्न आह्वान गरे। देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका बेला प्रवक्ता डा. विकास देवकोटाले यस्ता किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले त्यसले शरिरमा हानी पुर्याउने पनि बताए।
‘शरिरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, कुनै ब्लिच, कीटनाशक झोल, क्लोरिन जस्ता डिसइन्फेक्टहरु शरिरमा लगाउँदा वा छर्कदा यो भाइरस नास हुँदैन,’ नियमित मिडिया ब्रिफिङमा उनले भने, ‘भाइरसको वृद्धि हाम्रो शरिरको कोषभित्र भइरहेको हुन्छ। यस्ता झोलहरुले हाम्रा आँखा नाक मुख आदिमा धैरै हानी पुर्याउँछन। मानिसमा सिधैँ यस्ता कीटनाशक पदार्थहरु छरिनु हानिकारक छ।’
यस्ता डिसइन्फेक्टहरु सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वास सम्बन्धी बिभिन्न समस्याहरु पनि उत्पन्न भएको विभिन्न अध्ययनहरुले देखाएको प्रवक्ता देवकोटाले बताए। तथापी तोकिएको मापदण्डहरु पूरा गरेर सही तरिकाले सही मात्रामा कीटनाशक छर्कँदा भुई र सतहहरुलाई भने निसंक्रमण गर्न मद्दत पुग्ने उनले जनाए।
उनले बिभिन्न सवारी साधनहरु, हामीले छुने गरेका बिभिन्न बस्तुहरु, प्याकिङ गरिएका सामग्री आदिमा स्प्रे गरेर ती वस्तुका सतहलाई निसंक्रमण गर्न सकिने पनि बताए । “मापदण्ड अनुसार आवश्यक मात्रामा प्रयोग गर्दा त्यसले जमिनको सतहमा निःसंक्रमण गर्न मात्रै मद्दत मिल्छ”, उनले भने, “सवारीसाधन, हामीले छुने वस्तु, फलाम, प्याकिङ गरेको सामान लगायतको सतहमा टाँसिएर बसेको भाइरसलाई निःसंक्रमण गर्न भने केहीहदसम्म सहयोग गर्छ।”
उनले २० सेकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने, दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नु नै कोरोनास भाइरस सर्न नदिने सबैभन्दा उत्तम विकल्प भएको बताए।