
नेपालगंजमा ७ बर्षिय नाबालकलाई कोरोना संक्रमण देखिएपछि धेरै अभिभावक चिन्तित हुनुभएको छ । हामीले के बुझ्नु पर्दछ भने कोरोना संक्रमण जुनसुकै उमेरको व्यक्तिलाई सर्न सक्छ।सरसफाई, पोषिलो खाना तथा समयमा निदान भयो भने बालबालिकालाई संक्रमण हुँदैमा आत्तिनु पर्ने अवस्था छैन । कोरोना संक्रमणको विश्वब्यापी ट्रेन्ड हेर्ने हो भने बालबालिकाको मृत्युदर नगन्य छ । युनिसेफ तथा WHO ले संक्रमण बालबालिकालाई पनि सर्न सक्ने तर बालबालिका जोखिम बर्गमा नरहेको बताएका छन् ।
जेष्ठ नागरिक, मुटु / फोक्सो / किड्नीका दीर्घबिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, स्टेरोइड सेवन गरिरहेका व्यक्ति तथा इम्युनो डिफिसिएन्सी कन्डिसन भएका व्यक्ति जोखिम बर्गमा पर्दछन् ।
तसर्थ संक्रमण हुनु र जोखिम हुनु फरक कुरा हुन् ।
आफ्ना बालबालिकालाई पोषिलो खाना खुवाउने, हात धुने लगायतको सरसफाइमा ध्यान दिने, घरभित्रै राख्ने, होम ट्युसन नराख्ने, सकभर घरभित्र पनि जोखिम बर्गसंग भौतिक दुरी बढाउने गर्नु उपयुक्त हुन्छ ।
साथै उनले कोरोना नियन्त्रणको ठोस कदम चाल्न ढिलो नगरौं भन्दै केही सुझावहरु दिएका छन् ।
आइतबार नेपालगंजमा १५ जना तथा बीरगंजमा १ जनामा कोरोना संक्रमण पुष्टि भयो । उदयपुर, बिरगंज र नेपालगंजको संक्रमणले ठोस संकेत दिएको छ । त्यो भनेको व्यक्तिगत दुरी, सामाजिक दुरी कायम नहुनु । नेपालमा कोरोना संक्रमण फैलिन नदिने हो भने हामीले ठोस रणनीति बनाउनु पर्दछ ।
१. PCR टेस्टको दायरा ब्यापक बढाउने । सिमाना जोडिएका जिल्लाहरु, ठूलो जनसंख्या भएका सहर तथा भारतबाट लकडाउन यता नेपाल आएका व्यक्तिलाई खोजिखोजि PCR टेस्ट गर्ने ।
२. कोरोना संक्रमण सुरु भएको ४ महिना जम्मा १३ हजार जनाको PCR टेस्ट हुनु अत्यन्त थोरै हो । RDT टेस्टको मिथ्यांक प्रस्तुत गर्नुभन्दा प्रत्येक जिल्लामा PCR मेसिन उपलब्ध गराएर संक्रमित पहिचान गर्ने काम अभियानकै रुपमा सुरु गर्नुपर्ने ।
३. २ जनाभन्दा व्यक्ति संगै हिंड्न नपाउने ।
४. हरेक ठाउँमा न्युनतम ६ फिटको दुरी अनिबार्य कायम राख्नुपर्ने ।
५. संक्रित ठाउँमा घरभित्र समेत भौतिक दुरी कायम गर्नुपर्ने ।
६. धार्मिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक लगायत बिबिध क्षेत्रमा मान्छे जम्मा हुने, सामुहिक बसाइ गर्ने, सामुहिक प्रार्थना गर्ने लगायतका काम कोरोना नियन्त्रण नभएसम्म बन्द गर्नुपर्ने । ती कहाँ कहाँ छन् , खोजेर बन्द गराउने । त्यसको नियमित तथा कडा अनुगमन गर्ने ।
७. तरकारी बजार बन्द गर्ने । तरकारी, फलफल होलसेलबाट सिधै किराना पसल / तरकारी पसलबाट बिक्री वितरण गर्ने ।
८. सपिंग मल बन्द गर्ने । स्थानीय ससाना पसलबाट अत्याबश्यक पदार्थ किनबेच गर्ने ।
९. बिहान र बेलुकाको समयमा पसल खोल्न, हिड्डुल गर्न नदिने । दिउँसो सामान किन्ने समय तोकेमा ७५ % आवतजावत स्वत: कम हुन्छ ।
१०. सुरक्षाकर्मी र सिमाबासीको संयुक्त गस्ती २४ घण्टा नै गरेर जोखिम ठाउँमा तारबार, CCTV जडान गर्ने ।
यी आधार तयार नगरि लकडाउन खोल्ने हो भने स्थिति भयाबह हुनसक्छ । सरकारले PCR टेस्टको दायरा बढाउने, कडा अनुगमन गर्ने अनि नागरिकले लकडाउन तथा सामाजिक दुरीको मर्म बुझेर घरभित्र बस्ने / सामाजिक दुरी कायम गर्ने गरौँ ।
– डा. रवीन्द्र पाण्डे