
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको हो ।
भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ ।
र यो पनि पढ्नुहोस् :
रेड जोनमा नेपालगञ्ज : फेरी थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए
केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका छन् ।
नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् ।
२५ गते देखि लकडाउन केहि खुकुलो हुने भनिए पनि एकै दिन कोरोना संक्रमितको संख्या बढे सँगै लकडाउनलाई थप कडाई गदै लौजाने कुरामा बहस हुन थालेको छ ।
देशव्यापी लकडाउन, सामाजिक दूरी, सरसफाइजस्ता उपायबाट नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रसारलाई रोक्ने प्रयास गरिएको छ ।
प्रशासनको अनुमतिविना मानिसको हिँडडुलमा रोक लगाइएको छ । हवाई उडानसँगै नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द गरिएको छ । उद्योग/कलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छन् । ११ चैतदेखि गरिएको लकडाउन अनिश्चित बन्दा जनजीवन कष्टकर बनेको छ । कतिपय मानिसले भोकसँग जुध्नुपरेको छ ।