
बझाङ : आफ्नो देश फर्किन नपाए पछि नेपाल-भारत सीमामा रहेको क्वारेन्टाइनमा एक महिलाले बच्चा जन्माएकी छन् ।
भारतबाट चैत १४ गते स्वदेश फर्किंदै गर्नु भएकी बझाङको थलारा गाउँ पालिकाकी हर्कलादेवी दाहालले बच्चा जन्माउनु भएको हो ।
दाहालले भारतको रामपुर भन्ने ठाउँमा वैशाख १० गते बच्चा जन्माउनु भएको उहाँका श्रीमान जीवन दाहालले बताउनु भयो ।
आमा र बच्चाको अवस्था निकै कमजोर हुन थालेको श्रीमान दाहालको भनाइ छ ।
खान र बस्न उचित व्यवस्था नभएको कारण बच्चा र आमाको स्वास्थ्य कमजोर हुँदै गएको दाहालले बताउनु भयो । ‘मात्र बिहान र बेलुका दुई छाक खान दिइएको छ । त्यो पनि धेरैजस्तो बासी, सडेगलेको र चिसो खान खानुपर्ने बाध्यता छ । जसको कारण बच्चा र आमा दुबै बिरामी भएका छन्,’ दाहालले भन्नुभयो ।
सुत्केरी महिलासँगै क्वरेण्टीनमा रहेका थलारा गाउँपालिकाका अन्य ९२ जनाको अवस्था पनि उस्तै छ। क्वारेन्टाइनमा बढी महिला र बालबालिका रहेका छन। उनीहरुको अवस्था दिनानुदिन कमजोर हुँदै गएको स्थानीय भरतबहादुर थापाले बताउनुभयो । ‘न खानेपानीको व्यवस्था छ, न बस्ने राम्रो प्रबन्ध नै । त्यसमा झन् ५ वर्ष मुनिका बालबालिका, गर्भवती, सुत्केरी महिला र वृद्धवृद्धाहरुलाई जोखिम बढ्दै गएको छ,’ थापाले भन्नुभयो ।
नाममात्रको क्वरेण्टीन छ। बाथरुमको फोहोर पानी पिउनुपर्ने बाध्यता छ। त्यो पनि बत्ती नआएको दिन पानी आउने गरेको छैन। बालबालिकाले खाना खानेबित्तिकै बान्ता गर्न थालेका छन् । खाना राम्रो नभएको कारण खानेबित्तिकै सबैलाई बान्ता हुने गरेको उनीहरुले गुनासो गरे ।
उज्यालो अनलाईनमा डीबी बिष्टले लेखेको समाचार ।