
रौतहट – कोरोना निको भएर घर फर्केका रौतहटका १९ वर्षिय युवालाई पुन: आइसोलेसनमा राखिएको छ। रौतहट इशनाथ नगरपालिकाकाका ति युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै नारायणी अस्पताल ल्याइएको हो।
शनिबार राति स्वास्थ्यकर्मीको टोलीले उनलाई अस्पताल ल्याएको थियो। तीन भारतीय मुस्लिम धर्म प्रचारक सहित उनी गत आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज भए पछि पनि उनको थ्रोट स्वाब पुन: परीक्षणको लागि लिइएको थियो।
अस्पतालका अनुसार बैशाख १० र १३ मा कोभिड–१९ परिक्षण निगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुने खबर पाएपछि ती युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल पुगेका थिए ।
कोरोना नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेपछि ती युवक एक साता देखि घरमा आफन्तसँग बस्दै आएका थिए । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताउनुभयो । अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका ती युवकको थ्रोट स्वाब रि–चेक हुँदा पोजेटिभ आएको थियो ।
‘डिस्चार्ज भएको दुई दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जानकारी आयो कि रौतहटको युवकको फेरि थ्रोट स्वाब संकलन गरि पठाउनु,’ स्रोतले भन्यो, ‘स्वाब लिन उनको गाउँमै पुगेको टोलीले ती युवकसहित परिवारका १३ जनाको स्वाब लिएको थियो ।’
स्रोतका अनुसार ती युवकका परिवारका अन्य सदस्यको रिर्पोट नेगेटिभ आएको छ । भारतको दिल्लीस्थित एक ब्याग बनाउने उद्योगमा काम गर्दै आएका ती युवक १६ गते गते घर फर्केर १७ गतेबाट उक्त नगरपालिकास्थित मावि औरैयाको क्वारेन्टाईन बसेका थिए ।
त्यहाँ बस्दै गर्दा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि वीरञ्गज लगीएको थियो । उनी सँगै भारतबाट आएका ४ जना साथीको रिपोर्ट भने नेगेटिभ आएको थियो । रौतहटमा अहिले सम्म कारोनाको ३ जना संक्रमित भेट्टिएका थिए । ती मध्ये ईशनाथका यूवा ठिक भएर घर आए पनि उनलाई फेरि लगिएको हो ।