
काठमाण्डौं , २१ वैशाख– नेकपा सांसद दलबहादुर रानाले आफ्नो निर्वाचन क्षेत्र पाल्पा–१ बाट उपाध्यक्ष वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् ।
रानाले आफूलाई राजीनामा गराएर वामदेवलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रचार झूठो, भ्रमपूर्ण र पार्टी एकताविरोधी षड्यन्त्रबाट प्रेरित भएको भन्दै आक्रोश पोखेका छन् ।
नेकपा सचिवालय बैठकले शनिबार गौतमलाई प्रतिनिधिसभामा लाने निर्णय गरेको थियो । केही नेताले रानालाई राजीनामा गराएर पाल्पा–१ बाट गौतमलाई उपनिर्वाचन लडाउने प्रस्ताव गरेका थिए ।
राना गौतम पक्षधर नेताका रुपमा चिनिन्छन् । गएराति सामाजिक सञ्जाल फेसबुमार्फत रानाले केही समयदेखि पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई सचिवालयको बैठकमा नेताहरुले आत्मालोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, तीनजना अध्यक्ष राख्ने विषय अघि नबढाउने र गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ताबाट जानकारी पाउँदा सम्पूर्ण नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएको रानाले लेखेका छन् ।
‘तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय ‘वामदेव गौतमलाई पाल्पा क्षेत्र नम्बर–१ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकताविरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ रानाले लेखेका छन् ।