
चीनकाे सक्रियता पछि प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीपछिको प्रधानमन्त्रीमा प्रस्ताव गरेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई साथ दिने तयारी गरेका छन् ।
चीनले पटक पटक फाेन गरेर बिवादबारे बुझ्नु र चीनकी राजदुतले सबै नेताहरुलाई भेट्नुले नै नेकपामा खिचडी पाकेकाे अनुमान लगाएका थिए । पछि हट्दिन भन्ने बामदेब एकाएक परिवर्तन हुनुले चीनकाे भुमिका त छैन भनेर प्रश्न उठ्न थालेकाे छ ।
नेकपाभित्रको सत्ता संघर्ष र विवादमा मध्यस्थकर्ताको भूमिकामा देखा परेको उत्तरी छिमेकी चीनको दबाब पछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई विस्थापित गर्ने रणनीतिमा लागेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ब्याक भएको खबर सार्वजनिक भएको छ ।
१८ वैशाखको साँझ प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटघाट गरेकी चिनियाँ राजदूत होउ यान्छीले नेकपाको आन्तरिक विवाद र शक्तिसंघर्षको न्यूनीकरणमा सक्रिय भएर लागेको बताइएको छ । राजदूत यान्छीकै दबाबका कारण ओली विस्थापनको खेलमा लागेका कार्यकारी अध्यक्ष प्रचण्ड आफ्ना घोषित एजेन्डा बाट पछि हट्न बाध्य बनेको स्रोतको दाबी छ ।
शनिबार मध्याह्न प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका उपाध्यक्ष गौतमले आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई साथ दिने घोषणा नै गरेको प्रधानमन्त्री निकट उच्च स्रोतले दावी गरेको छ ।
गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना प्रभाव घटेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । आजै साँझ ५:३० मा सचिवालय बैठक बस्दै छ ।
सचिवालय बैठकअघि उपाध्यक्ष गौतम बालुवाटार पुग्नुलाई नेकपाभित्रको बदलिँदो समीकरणको संकेत मानिएको छ । शुक्रबार गौतमले आफुनिकटका नेता तथा कानुनका जानकारहरुसँग संविधान संशोधन लगायतका बारेमा परामर्श समेत गरेका थिए ।
गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा कुनै कानुनी र व्यवहारीक आधार नभएको भनेर चर्चा भएपनि उपाध्यक्ष गौतम भने प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएका छन् । यसैले पनि उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई साथ दिन लागेको बुझिएको छ ।