
२० वैशाख, काठमाडौं । विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध लडिरहेको छ । यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन् ।
कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि परेकी छिन् ।
उनी हुन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा । उनले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् ।
झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।
आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।
महामारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उनी आफ्नो तर्फबाट कर्मचारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।
यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् । उनी परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँछिन् ।