
नेपालगन्ज — नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् ।
भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ ।
नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए ।

जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।
नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् । उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ।
रुपन्देहीका युवा वैशाख ५ गते दिल्लीबाट फर्किएका थिए
रुपन्देहीमा कोरोना संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थय शाखा प्रमुख उमाशंकर चौधरीले बताए । दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मझगावामा रहेको जनता मावीको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थय अवस्था सामान्य छ ।
क्वारेन्टाइनमै बसेका बेला उनको पिसीआर जाँच गरिएको थियो । उनको शुक्रबार नै भैरहवा स्थीत क्षेत्रीय प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको हो । उनको ८ जनाको परिवार भएपनि उनले परिवारलाई नभेटेको चौधरीले बताए । उनी कति जनाको समूहमा आएका थिए त्यसबारे भने खोजबिन भइरहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदार शाहले बताए ।
अहिले उनलाई बुटवलको रामनगरमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उनको प्रारम्भिक स्वास्थ्य चेक गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन राजेन्द्र खनालले बताए ।