
भक्तपुर लोकन्थलीकी एक छोरीले आमाको निधनपछि कपाल खौरिएर काजकिरिया गरेकी छिन् । दोलखाको तामाकोशी स्थायी घर भई हाल मध्यपुरठिमी नगरपालिका वडा नं. २ लोकन्थली घर भएकी पबिना श्रेष्ठले आमा जमुनाको मृ/त्युपछिको १३ दिने संस्कार पुरा गरेकी हुन् ।
क्यान्सरका कारण लामो समयदेखि नेपाल प्रहरी अस्पतालमा उपचाररत जमुनाको ६ बैशाखमा निधन भएको हो । उनको १३ दिने मृ/त्यु संस्कार बिहीबार सकिएको परिवारले जानकारी दिएको छ ।
जमुनाको श्रीमान र चार छोरी छन् । तीन छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी पबिनाले निधन संस्कारको सबै प्रक्रिया पुरा गरेको पबिनाका बुबा हिरानारायणले जानकारी दिए । राेजगारीका लागि दक्षिण कोरिया रहेकी पबिना केही महिना अघि मात्रै नेपाल आएकी हुन् ।
छोरी मात्र हुने आमाबुबालाई पछि कसले हेर्छ भनेर छोरा नै चाहिन्छ भन्ने सोचाइ अझै हटिसकेको छैन । तर आफ्नो आमाबुबालाई जीवित हुँदा राम्रोसँग हेरचाह गरेर निधन पछिको संस्कार पुरा गर्ने छोरीहरु समाजमा बढ्दै गएका छन् । पविनाले अहिले काजकिरिया मात्र नभई निधन संस्कारको पछि गरिने प्रक्रिया पनि गर्ने बताएकी छिन् ।
हिमाल खबर