
अहिले सम्म प्रदेश ५ को अधिकांश जिल्लाहरुमा कोरोना संक्रमित भेटिदा पाल्पा जिल्ला सुरक्षित रहेको थियो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिर्पोटमा पाल्पामा पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहरा गाउपालिकाका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।
उनीहरुको पिसीआर परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । उनीहरुलाइ तानसेनमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा राख्ने तयारी भइरहेको छ ।

पाल्पाबाट २ सय ७१ जनाको नमूना संकलन गरेर परीक्षण गर्दा २ सय ५७ जनाको नतिजा नेगेटिभ आएको छ भने तीन जनाको पोजेटिभ र ११ जनाको नतिजा आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा उल्लेख छ ।
११ जिल्लाको विवरणमा कविलवस्तुमा ७० जना, रुपन्देहीमा ३२ जना, पाल्पामा ३ जना, अर्घाखाँचीमा २ जना र गुल्मिमा ३ जना गरेर १ सय १० जनाको नतिजा पोजेटिभ आएको छ ।