
बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ । सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेका उनको आइतवार बिहान आफ्नै निवास एकान्त कुनामा निधन भएको हो । उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित थिए ।
फिल्म ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए । तर, सुगर, प्रेसर जस्ता रोग थपिँदै गएपछि उनी विना कसैको सहारा उठ्न पनि नसक्ने भएका थिए । उनको कहिलेकाहिँ बोली आउने र जाने गरेको पनि पारिवारिक स्रोतले जानकारी दिएको छ । १०० हाराहारी चलचित्र, दर्जनौं शिरियल र म्युजिक भिडियो संगै बिज्ञापनहरुमा अभिनय गरेका चन्द सुगर र प्रेसरका कारण थलिएर काठमाडौंको एकान्त कुनामा छोरी र श्रीमतीको साथमा बसेका थिए ।
उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘यु’द्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका छन् ।
पछिल्लो समय रोगले थलिएर जयनन्द चन्द बोल्न सक्थेनन् । केहि समय अगाडिसम्म वाकरको सहायताले हिड्ने चन्दका पाईलाहरु सर्न छाडिसकेका थिए । स्वस्थ रहुन्जेल कलाकारितामा समर्पित चन्दे भागी भागी नजाऊ चलचित्रपछि कुनै पनि चलचित्रमा अभिनय गरेका थिएनन् ।