
सउल – कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार निधन भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमानका साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् ।
घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिएका हुन् । केही दिनयता कोरियामा नेपालीको निधन हुने क्रम लगातार जस्तै देखिएको छ । गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा निधन भएको थियो ।
त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो ।